हुम्लामा अज्ञात रोग फैलिदा पशुचौपायाको मृत्यु बढ्दो

Byदोर्ण के.सी.

२३ श्रावण २०८२, बिहीबार १५:५६ २३ श्रावण २०८२, बिहीबार १५:५६ २३ श्रावण २०८२, बिहीबार १५:५६

थर्कोट समाचारदाता
हुम्ला, २२ साउन ।
हुम्लाको चङ्खेली गाउँपालिका ६ को चरी गाउँमा अज्ञात रोगका कारण पशुचौपाया मर्ने क्रम बढन थालेको छ । दुई हप्तादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशुचौपाया मरिसकेका छन् । अचानक पशुचौपायाको पेट सुनिने, छाती सुनिने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल छाड्ने, दिसापिसाबमा रगत देखिने लक्षण सहितको रोगले अहिलेसम्म चरीगाउँको लामालेखमा १०, जुम्खेलामा ११, क्षेल्दुममा १०, मुन्खेतीमा ६, धुन्देउमा ८, रातामाटामा ९ र लाङ्गोरमा ५वटाभन्दा धेरै गाई, गोरु र बाच्छासमेत मरेका चङ्खेली गाउँपालिका ६ चरीगाउँका प्रेमसिंह सिराले बताउनुभएको हो । अज्ञात रोग फैलिएकाले अहिलेसम्म चङ्खेली गाउँपालिकाको चरीगाउँका किसानका ६० भन्दाबढी पशुचौपाया मरेपछि त्यहाँका किसानलाई ठूलो क्षति पुगेको छ । खेतबारी जोत्नका लागि एक हल गोरु जोगाउन पनि धौधौ भएको किसानको भनाइ छ । खर्कहरूबाट गाउँघरमा पशु बिरामी भएको खबर आएलगत्तै चङ्खेली गाउँपालिकाको पशु शाखामा औषधिका लागि हप्ता दिन धाउँदा स्वास्थ्यकर्मी नभएको र पशुशाखाको ढोका चौबिसै घण्टा बन्दहुँदा रित्तो हात लिएर फर्किनुपरेको सिराले बताउनुभएको हो । गाउँपालिकामा खबर गर्दा समेत औषधि छैन भन्दै कुनै पनि सुनुवाइ नभएको किसानको गुनासो छ । चालू आर्थिक वर्ष शुरू भएको समयदेखि गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशुचौपायालाई तत्काल उपचार गर्ने व्यवस्था नभएको स्थानीयको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds