हाम्रो संस्कृति, हाम्रो दायित्व

Byदोर्ण के.सी.

२३ मंसिर २०८०, शनिबार १६:५० २३ मंसिर २०८०, शनिबार १६:५० २३ मंसिर २०८०, शनिबार १६:५०

संस्कृति भनेको हाम्रो जीवनलाई सरल र रमाइलो बनाउने एउटा यस्तो कला र विश्वास हो, जुन एउटा पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गरिन्छ। संस्कृतिलाई ‘सम्पूर्ण समाजको जीवन पद्धति’ भनिन्छ। यसले एउटा मानिसको धर्म, भाषा, शिष्टाचार, अनुष्ठान र कलाबारे समावेश गरेको हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, यो एउटा समुदाय वा समाजभित्र हुने मानवीय गतिविधि हो। रीतिरिवाज, कानुन, पोसाक, वास्तुशैली, सामाजिक स्तर र परम्पराहरू सबै सांस्कृतिक तत्वका उदाहरणहरू हुन्। सबै देशहरूको आ–आफ्नै फरक–फरक संस्कृतिहरू हुने गर्छन्। देशभित्र हुने समाज वा समुदायहरूको पनि संस्कृति छुट्टाछुट्टै हुन्छन्। तर, सबैको फरक–फरक संस्कृति भए पनि सबैले आफ्नो संस्कृतिको रक्षा र सामान गर्ने गर्छन् र सबैले आफ्नो संस्कृतिका लागि आफ्नो मनमा एउटा विशिष्ट स्थान राखेका हुन्छन्।
अब कुरा गरौँ नेपालको संस्कृति बारे ।
नेपलको आफ्नै धार्मिक संस्कार र परम्परा छन्, जो निकै समृद्ध छ। हाम्रो संस्कृति हाम्रो राष्ट्रको जीवन शैलीबाट लिइएको हो। नेपाली संस्कृति एउटा पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ। यो एक यस्तो बहुमूल्य खजाना हो, जुन नेपालीहरूले ठूलो गर्वको भावनाका साथ प्रदर्शन गर्ने गर्छन्। नेपाली संस्कृति धेरै पुरानो र सबैभन्दा चाखलाग्दो संस्कृतिहरूमध्ये एक हो। नेपालको भूगोल, जाति, परम्परा, धर्मदेखि लिएर अरू सबै भागमा विविधता पाइन्छ। यसले नेपालको संस्कृतिलाई विविधतायुक्त पनि बनाएको छ। हामी देशका विभिन्न भागहरूमा फरक–फरक सांस्कृतिक आस्थाहरू पाउन सक्छौँ। नेपालको संस्कृति र परम्परा यसको जातीय, धर्म, मूल्य–मान्यता र सामाजिक समूहहरूको पराकाष्ठा हो। नेपालको समृद्ध र विविध संस्कृति यहाँको पहिरन, जात्रा, संगीत, नृत्य, कला, साहित्य, लोकगीत र यसको भाषामा झल्कन्छ। यसले नेपाली जीवनशैलीले के देखाउन र प्रस्ताव गर्न सक्छ भन्ने कुराको प्रदर्शन पनि गर्दछ। नेपालको संस्कृति राष्ट्रको समृद्ध, मेलमिलाप र विविधतायुक्त समाजको प्रतीक हो।


संस्कृति भनेको एकदम महत्वपूर्ण हुन्छ भन्ने कुरा त अहिलेको समयमा सबैलाई थाहा भएकै कुरा हो। तर, धेरैजसो मानिसले यो महत्वपूर्ण तथ्यलाई बिर्सिन्छन्। विशेषगरी संस्कृतिबारे थाहा भएर पनि आजकालका युवाहरूले आफ्नो संस्कृतिलाई प्रवर्द्धन र रक्षा गर्दैनन्। र, उल्टै अन्य देशको संस्कृति पछ्याउँछन्। यो एकदम गलत हो। संस्कृति सबै देश अथवा समूहको लागि एउटा महत्वपूर्ण विषय हो। अझ नेपालका लागि त यसको संस्कृति एकदमै महत्वपूर्ण छ। हाम्रो संस्कृतिले सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्छ। यसले नेपाली जनतालाई राष्ट्रिय पहिचानको भावना प्रदान गर्न पनि मद्दत गर्छ। हाम्रो संस्कृतिले विभिन्न जातीय समूहहरूबीच सहिष्णुता र समझदारीलाई बढावा दिन्छ। द्वन्द्व अथवा झैझगडा रोक्छ र शान्ति प्रवर्द्धन गर्न पनि मद्दत गर्छ। देशको जनता भएपछि त्यस देशको संस्कृतिको रक्षा गर्नु भनेको हाम्रो सबैभन्दा पहिलो र महत्वपूर्ण कर्तव्य वा धर्म हो। यसका लागि हामीले संग्रहालयमा गएर सांस्कृतिक स्थलहरूको भ्रमण गर्ने, संस्कृतिबारे लेखिएको साहित्य र कविता पढ्ने, आगामी पुस्तालाई सांस्कृतिक ज्ञान प्रदान गर्ने, भत्किएका सम्पदालाई समयमै मर्मत गरी मौलिकता कायम गर्ने, यस्ता सम्पदाहरूलाई चोरी हुनबाट जोगाउने, यी सम्पदाहरूको संरक्षण गर्न समुदायका युवाहरूले विभिन्न क्लबहरू स्थापना गर्ने र सम्पदा वरपर सरसफाइ राख्नेजस्ता कामहरू गर्न सक्छौँ। अतः हाम्रो संस्कृति भनेको हाम्रो दायित्व हो। हाम्रो संस्कृति भनेको हाम्रो पहिचान हो। हाम्रो संस्कृति नभए हाम्रो देश रहँदैन र देश नरहे हामी जनता पनि रहँदैनौँ। त्यसैले देशको सबै नागरिकले संस्कृतिको महत्व बुझ्नुपर्छ र संस्कृति संरक्षण गर्न आफूले सक्ने जति सहयोग पुर्‍याउनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds