



दाङ, २८ मंसिर । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले आईतबारदेखि आफ्नै भवनबाट सेवा दिने भएको छ । तुलसीपुर-६ घोराहीरोडमा भाडाको भवनबाट संचालित कार्यालयले आइतबारदेखि आफ्नै भवन तुलसीपुर-६ को गाइडहरदेखि सेवा दिन लागेको हो ।कार्यालयले सामाजिक विकास डिभिजन कार्यालयको भवनबाट सेवा दिन लागेको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिनुभयो । गाईडहरबाट सेवा दिनका आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रमुख गौतमले बताउनुभयो ।सामाजिक विकास डिभिजन कार्यालयलाई भने तुलसीपुर-१२ मा रहेको शैक्षिक तालिम केन्द्रमा सारिएको छ ।गत भदौ ११ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद प्रदेशको बैठकले भाडाको घरमा संचालित यातायात व्यवस्था कार्यालय राप्तीलाई सामाजिक विकास डिभिजनको भवनमा सार्ने निणर्य गरेको थियो ।कार्यालयले अहिले मासिक करिब ५० हजार भाडामा मात्रै खर्च गरिरहेको कार्यालयका लेखा प्रमुख उत्तम डाँगीले जानकारी दिनुभयो । भाडाको घरमा ठाउँ पनि अपर्याप्त रहेको र भाडामा रकम पनि खर्च भइरहेको अवस्थामा आफ्नै भवनबाट सेवा दिन लागेको उहाँले बताउनुभयो ।आफ्नै भवनबाट सेवा दिँदा सेवाग्राहीलाई पनि थप सहजता हुने कार्यालयका प्रशासन प्रमुख लोक बहादुर केसीले बताउनुभयो ।







