थर्कोट समाचारदाता
दाङ, ७ असोज ।
मावि तुलसीपुर सेन्टरले खुशीयालीमा कार्यक्रमको आयोजना गरि उत्सव र्‍याली निकालेको छ । देशकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत भएपछि मावि तुलसीपुर सेन्टरले आज तुलसीपुर बजारमा उत्सव र्‍याली निकालेको हो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, तुलसीपुर–६ का अध्यक्ष वर्षात भण्डारी, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी एवं शिक्षासंग सम्बन्धित सरोकारवालाको उपस्थितिमा उत्सव र्‍याली निकालिएको प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभएको थियो ।तुलसीपुर–६ स्थित विद्यालयको प्रांगनबाट शुरु भएको र्‍यालीले बजारको परिक्रमा गरेको थियो । र्‍याली गु्रमाह चोक, जेसिज चोक, बिरेन्द्रचोक, उपमहानगरपालिका कार्यालय हुँदै पुनः विद्यालयको प्रांगनमा पुगेर सभामा परिणत भएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सभामा प्रमुख अतिथि चौधरीले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकामा तुलसीपुर उपमहानगरपालिका र दाङ जिल्लाको शिर उच्च बनाएको बताउदै आगामी दिनमा पनि विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले सबै कुरा सरकारी सेवा सुविधा खोज्ने तर विद्यार्थी भने सामुदायिक विद्यालयमा भर्ना गर्न नमान्ने अवस्थाको परिस्थितिमा समेत विद्यालयको सफलता ऐतिहासिक रहेको उल्लेख गर्नुभएको थियो। सामुदायिक विद्यालयतर्फ शिक्षा दिवस २०८१ का अवसरमा सर्वोत्कृष्ट उपाधिसँगै नगद तीन लाख र शिल्ड प्राप्त गरेको प्रधानाध्यापक भागवत पौडेलले बताउनुभएको थियो। उहाँले २०६६ सालमा विद्यालयको प्रअको जिम्मेवारी सम्हाल्नुभएको थियो। तत्कालीन अवस्थामा अञ्चल सदरमुकाम तुलसीपुरमा रहेको भए पनि भौतिक, शैक्षिक र आर्थिक रूपमा ओझेलमा रहेको स्मरण गर्दै सबै सरोकारवालाहरूको जोडबलका कारण अहिले शैक्षिक, भौतिक, आर्थिक र जनशक्तिका हिसाबले चलायमान बनाएर देशकै उत्कृष्ट विद्यालय बनाउन सहयोग गर्ने अभिभावक, विद्यार्थी र कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। लगातार तीन वर्षसम्म कक्षा १२ को परिक्षामा नेपालका सबै विद्यालयलाई उछिनेर प्रथम भएको प्रअ पौडेलले बताउनुभएको थियो। विद्यालयलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्नुभएको थियो । विद्यालयले नगद तीन लाख सहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds