



आलोक भावुक
गढवा, ६ मंसिर । महिला सशक्तिकरण र आत्मनिर्भर भिटा परियोजनाकाको पहिलो उद्देश्य रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताएका छन् । बुधबार गढवा गाउँपालिका वडा नम्बर – ७ चन्दनपुरमा एक कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताएका हुन् । महिला आत्मनिर्भर बन्न उत्पादनमा जोड दिनु पर्ने बताउदै अध्यक्ष पोख्रेलले महिला सशक्तिकरण नभए सम्म आत्मनिर्भर बन्न नसक्ने ठोकुवा गरेका थिए । गढवा गाउँपालिकाले ठुलो लगानी गरेर भिटा परियोजना सुरु गरेको बताउदै सम्पूर्ण महिला लाई समेटेर आत्मनिर्भर बनाउनका लागि उत्पादन मूलक कार्यक्रमहरु सुरुवात गरेको जिकिर गर्दै आफ्ना धारणा राखेका थिए ।

भोकालाई एक छाक भोजन होईन जिउने जुक्ति सिकाऔ भन्ने भनाई सार्थक रहेकोले महिला दिदिबहिनीहरुले स्थानीय सरकारबाट नगद सहयोग माग्नुको साटो उत्पादन मूलक कार्यक्रम गर्ने तर्फ बढी केन्द्रित हुनु पर्ने बताएका थिए । हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा पालिकाले कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत बिभिन्न कार्यक्रम गरिरहेको जानकारी समेत दिएका थिए। आर्थिक र सामाजिक हिसावले सबैलाई सक्षम बनाउने दिशामा पालिका अघि बढेको बताउदै बिगतमा थुप्रै कार्यक्रम भएता पनि सोचे जस्तो प्रभावकारी नभएकोले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ संग सहकार्य गरेर पालिकाले ठुलो कार्यक्रम सञ्चालन गरेको जानकारी दिएका थिए । भिटा परियोजना गढवा गाउँपालिकाको सबै भन्दा ठुलो प्रोजेक्ट भएको बताउदै हेफरको मोडेलमा काम गर्ने जानकारी दिंदै गढवा गाउँपालिकाको ७० प्रतिशत लगानीमा सञ्चालित भएको कार्यक्रममा महिला समूहहरुले कोशिस गरे सोचे भन्दा राम्रो नतिजा आउने दाबी समेत गरेका थिए ।
त्यसैगरी तिन दिने हेफर आधारशिला तालिमको समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य तथा न्यायिक समिति सदस्य रेखा थापाले महिलाहरुको मिहेनतले बाख्रा पालन तथा कृषिमा राम्रो सफल्ता पाउने बताएकी थिईन। महिला उद्यमी समूहले उत्कृष्ट कार्य गर्नेमा आफु आशावादी रहेको बताउदै कृषि र पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन तिन दिने हेफर आधारशिला तालिमले मुख्य भुमिका खेल्ने बताएकी थिईन्। पालिकाको ७ नम्वर वडामा ३ वटा मुल समूह र ११ वटा उपहार समुह रहेका छन्। तालिममा २० जना सहभागीहरुको उपस्थिति रहेको थियो। गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा तिन दिने हेफर आधारशिला तालिम गढवा ७ चन्दनपुरमा सम्पन्न भएको छ। सफल्ता महिला उद्धमी समूह चन्दनपुरकी उपाध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सफल्ता उद्यमी महिला समूहकी सदस्य सरिता चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सामुदायिक सहजकर्ता जया बिश्वकर्माले गरेकी थिईन् ।

