दोर्ण के.सी.
दाङ, २७ पुस ।
तुलसीपुरमा बबई नदिको पानी ल्याउनका लागि लिफ्टिङको काम ६० प्रतिशत पुरा भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीले बताउनु भएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २० औं साधारणसभा तथा १२ औं अधिवेशनको अवसरमा शनिबार संस्थाका अध्यक्ष यमकान्त भण्डारीले सहलगानी खानेपानी आयोजना अन्तर्गत बबई लिफ्टीङको काम हालसम्म ६० प्रतिशत सकिएको बताउनुभएको हो । उहाँले आयोजना सम्पन्न भए पश्चात बसपार्क र रानीजरुवा सहित धेरै उपभोक्ताको घरमा खानेपानी सहजरुपमा वितरण गर्न सकिने बताउनुभएको थियो । कुल ५६ करोड ८० लाख २४ हजार ६ सय ३० रुपैँयामा भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रालिले बबई लिफ्टिङको काम गरिरहेको छ ।२०८२ असार मसान्तसम्म सक्ने गरी प्रालिसँग २०७९ असारमा ठेक्का सम्झौता भएको हो । सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ता ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढाएको सचिव सेवकराम भण्डारीले बताउनुभएको थियो । ठेक्कामा सरकारको ३८ करोड ८३ लाख, १७ हजार दुई सय ४१ रुपैयाँ र उपभोक्ताको १७ करोड सात लाख तीन सय ८८ रुपैयाँ छ । उपभोक्ताको तर्फबाट अहिले पाँच प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको हो । संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता तथा सहलगानी योजना प्रमुख नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा तुलसीपुर–७ का वडाअध्यक्ष राम बहादुर जिसी, वडा नम्बर १२ का अध्यक्ष खुशीराम चौधरी, वडा नम्बर ६ दुजमान भण्डारी ‘वर्षात’, तुलसीपुर खानेपानीका सल्लाहकार जनक प्रसाद खराल, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सल्लाहकार सुरेश हमालले उपभोक्तालाई सहजरुपमा पानी पुर्‍याउन सहलगानी आयोजनाको काम समयमै सम्पन्न हुनुपर्ने बताउनुभएको थियो । यस्तै मानवअधिकारकर्मी सुशील बस्नेत, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रदिप गौतम, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष केशव सापकोटा, निर्माण व्यवसायी बद्री कार्की, महिला पार्षद सुशिला सुवेदी, सुनिता रोकाय लगायतले स्वच्छ खानेपानी वितरणमा सहजता ल्याउन संस्थाले आयोजनाको कामलाई तिब्रता दिनुपर्ने बताउनुभएको थियो । यस्तै तुलसीपुर चेम्बरका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार खड्का, घोराही खानेपानी उपभोक्ता सरसफाइ संस्थाका अध्यक्ष देवीबहादुर डिसी, नारायणपुर खानेपानीका अध्यक्ष श्रवण कुमार रजौरेले खानेपानीको दिर्घकालिन समाधानका लागि मुहानको संरक्षण आवश्यक रहेको बताउनुभएको थियो । संस्थाका उपाध्यक्ष सीताराम शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव सेवकराम भण्डारीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds