









दोर्ण के.सी.
तुलसीपुर, ५ फागुन ।
दाङको तुलसीपुर–४ रक्षाचौरमा रहेको गुरु जजुर नमुना माध्यामिक विद्यालयकी दृष्टीबिहिन शिक्षिका सान्ता शर्माले विद्यालयमा एकलाख बढिको अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले आफ्ना स्वर्गिय आमाबुबाको स्मृतिमा उहाँले सोही विद्यालयमा ‘जनार्दन–पवित्रा’ स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो । अनाथ तथा टुहुरा बालबालिकाहरुलाई छात्रवृति प्रदान गर्ने उदेश्यले १ लाख १ हजार बराबरको अक्षयकोष स्थापना गरिएको विद्यालयले जानकारी दिएको हो । उक्त रकमबा आएको ब्याजले अनाथ तथा टुहुरा बालबालिकाहरु मध्यबाट १ जना छात्र र १ जना छात्रा गरी २ जनालाई छात्रवृति प्रदान गरिने शिक्षिका शर्माले बताउनुभएको हो । सानैदेखी गरिब, दुखीलाई सहयोग गर्ने सोच रहदै आएकोमा अहिले सानो अक्षयकोष स्थापना गरी टुहुरा बालबालिकालाई सहयोग गर्ने अवसर पाउदा अत्यन्तै उत्साहित भएकोसमेत उहाँले बताउनुभएको हो । अक्षयकोष बाफतको एकलाख एकहजार रुपैयाँ आज एक कार्यक्रमका बिच विद्यालयकी प्रधानाध्यापक विष्णु केसीलाई हस्तान्तरण गरिएको हो । यसअघि विद्यालयमा अन्य विभिन्न व्यक्तीहरुले अक्षयकोष स्थापना गरेपनी स्टाफ मध्यबाट भने यो पहिलो अक्षयकोष भएको विद्यालयकी प्रधानाध्यापक केसीले जानकारी दिनुभएको हो। एउटा दृष्टीबिहिन शिक्षिकाले गरेको यो कामले गर्दा विद्यालयका अन्य शिक्षक शिक्षिकाहरुलाई पनि थप प्रेरणा प्रदान भएको सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेले जानकारी दिनुभएको थियो।



