









थर्कोट समाचारदाता
दाङ, २० बैशाख । दाङको तुलसीपुरमा अबदेखि रात्रिकालिन व्यवसायका लागि होटलहरू संचालन गर्ने तयारी गरिएको तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ । यस अघि प्रशासनले बेलका नौं बजेदेखि नै होटल व्यवसायहरू बन्द गराउने निर्णय गरेको थियो । जसका कारण सबेरै होटलहरू बन्द भई रात्रिकालिन व्यवसाय संचालन नहुँदा टाढाबाट रात्रिमा आउने नागरिकले होटलमा बास पाउन समस्या भोग्नुपरेको थियो । यात्रु तथा व्यवसायलाई मध्यनजर गर्दै अवदेखि रात्रिकालिन व्यवसाय संचालनका लागि आवश्यक प्रक्रिया अघि बढाईएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले जानकारी दिनुभएको हो। उहाँले रात्रिकालिन व्यवसाय संचालन कार्यविधि बनिरहेको बताउँदै केहि दिनमा प्रमुख जिल्ला अधिकारीलाई बुझाउने बताउनुभएको हो। संघको शनिबार भएको ३० औँ वार्षिक साधारणसभामा अध्यक्ष केसीले तुलसीपुरको अर्थतन्त्रलाई थप चलायमान बनाउन र व्यवसाय प्रवद्र्धनका लागि रात्रिकालिन व्यवसाय संचालनको प्रक्रिया अघि बढाएको बताउनुभएको हो । रात्रिको समयम विषेशगरी होटल व्यवसाय अबेरसम्म संचालन गर्ने गरी कार्यविधि निर्माण भइरहेको अध्यक्ष केसीले बताउनुभएको थियो । उहाँले रात्रिमा व्यवसाय संचालन गर्नका लागि स्थानीय प्रशासनले आवश्यक सहयोग गर्नेमा विश्वस्त रहेको बताउनुभएको थियो । तुलसीपुर साविक राप्ती अञ्चलको पुरानो बजार हो । दाङको प्रमुख बजारको रुपमा रहेको तुलसीपुरमा रात्रिकालिन व्यवसाय संचालन नहुँदा टाढाबाट रात्रिमा आउने नागरिकले होटलमा बास पाउन समस्या भोग्नुपरेको छ । कार्यक्रममा सहभागि वक्ताहरूले रात्रिकालिन व्यवसाय संचालन भएमा व्यवसायी मात्रै नभएर उपभोक्तालाई पनि सहज हुने बताएका थिए । रात्रिकालिन बजार संचालन भएमा दिनभर व्यस्त हुने नागरिकलाई किनमेल गर्न सहज हुने उनीहरूले बताएका थिए । तुलसीपुरमा भने हाल प्रशासनको निर्णय अनुसार होटल व्यवसाय रात्रि ९ बजेसम्म मात्रै संचालन हुने गरेको छ ।



