


काठमाडौं, १३ श्रावन । चितवनको सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बस खोजी गर्न आएको भारतीय टोली आज स्वदेश फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । तर १० दिनसम्म अत्याधुनिक सोनार क्यामेरा, चुम्बकलगायतका उपकरण सहित खोजी गर्दा समेत फेला नपरेपछि भारतीय टोली आज स्वदेश फर्केको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिनुभयो । भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी जारी राख्ने उप्रेतीले जानकारी दिनुभयो । असार २८ गते चितवन महानगरपालिका–२९, सीमलतालमा पहिरामा परी २ वटा बस त्रिशुली नदीमा बेपत्ता भएका छन् । दुबै बसमा रहेका ६२ यात्रुमध्ये अहिलेसम्म २० जनाको शव भेटिएको छ । त्यसमध्ये ४ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
