









दोर्ण के.सी.
तुलसीपुर, १५ असार । तुलसीपुर उपमहानगरपालिकाले शनिवार आयोजना गरेको सार्वजनिक सुनुवाईमा विगतकै जिज्ञासाहरु यस पटकको कार्यक्रममा पनि आएका छन् । नागरिक स्तरबाट नगरको शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माण, आर्थिक अनियमितता, व्यवसाय लगायतमा सुधार गर्नु पर्ने विषयमा नै धेरै प्रश्न उठान भएका थिए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, संघसंस्था, नागरिक स्तर, सामाजिक, राजनितिक, व्यवसायिक, जेष्ठनागरिक लगायत सबै पक्षलाई समेटिएको थियो । तुलनात्मक रुपमा नागरिक स्तरका व्यक्तिको उपस्थिति भने अन्यको तुलनामा कमै थियो । त्यसैले पनि होला सबै भन्दा बढी गुणासो नागरिकहरुको सहभागिता न्युन थियो भने कार्यक्रममा कर्मचारीहरूको मात्र बाहुल्यता थियो । जेष्ठ नागरिक नगर कमिटिका सदस्य नेत्रमणि शर्मालाई तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार छ भनेर आधिकारिक खबर कसैले पनि नगरेको कुरा सार्वजनिक भएको थियो । तर उहाँले आफै थाहापाएर सहभागिता जनाएर सबैका सामु जिज्ञासा तथा गुणासो गर्नु पर्छ भन्ने लागेर सो कुरा बताउनुभएको थियो । स्थानीय सरकारप्रति गुणासो गर्ने अवसर भनेकै सार्वजनिक सुनुवाई कार्यक्रमले जुराउँछ । उहाँले कार्यत्रममा सहभागिता जनाएर सुरुमै आफ्नो मनमा लागेको आफुले भोगेको कुरा जिज्ञासाको रुपमा राख्नु भएको थियो । आफु पनि जेष्ठ नागरिक भएकाले उहाँलाई सार्वजनिक यातायात होस् या त अस्पताल जहाँ पनि आफुहरुलाई गर्ने व्यबहार कानुनमा लेखिएको भन्दा फरक पाएको पनि खुलेको थियो । यसरी जेष्ठ नागरिकलाई गरिने व्यवहार कार्यान्वयनका लागि तुलसीपुरउपमहानगरले किन पहल गर्दैन भनेर प्रश्न गर्नुभएको थियो । अस्पताल जाँदा छिटोछरितो सेवा नपाउनु, सार्वजनिक सवारी साधनमा छुट नपाउनु लगायत थुप्रै समस्या रहेको भन्दै यसलाई समाधान गर्न नगरपालिकाले भूमिका खेल्नु पर्ने माग समेत उहाँले सार्वजनिक सुनुवाई मार्फत राख्नुभएको थियो । यस्तै तुलसीपुरका दिपक वलीले राप्ती प्रादेशिक अस्पताल रिफर सेन्टरको रुपमा परिणत हुन थालेको भन्दै यसको सुधारका लागि पहल गर्न स्थानीय सरकारलाई आग्रह गर्नु भएको थियो । गरिब, दुःखीहरुको उपचार सेवाका लागि खोलिएको अस्पतालबाट सेवा लिन जाँदा रिफर सेन्टरको रुपमा आफूले पाएको बताउँदै स्थानीय सरकारले चासो किन नदिएको भन्दै प्रश्न पनि गर्नु भएको थियो । उहाँले यसलाई सुधार गरेर राम्रो सेवा दिने अस्पतालको रुपमा परिचित बनाउनु पर्ने सुझाव समेत दिनुभएको थियो । तुलसीपुर उपमहानगरपालिकाको वडा नंबर १९ का केही बस्तीहरु अझै आधारभूत आवश्कताबाट बञ्चित रहेका छन् । सो वडाका माथिल्लो भेगका नागरिकहरु विद्युतको पहुँचमा पुग्न नसकेकोप्रति स्थानीय सरकारको ध्यान जान नसकेको स्थानीयले गुणसो गरेका थिए । यस्तै तुलसीपुर ६, १०, ११, १२ नंबर वडाका खेतहरुमा तुलसीपुर बजारका फोहोर जाने र खेतीपातीमा समस्या भैरहेको बताएका छन् । फोहोेर खेतमा जाँदा वातावरण प्रदुषणसँगै किसानहरुलाई काम गर्दा खुट्टा काटिने, बिझाउने समस्या अन्त्य नभएको स्थानिय कृषकको गुणासो थियो । यस्तै स्थानीय सरकारको राजस्व संकलन गर्ने आधार व्यवसायिक क्षेत्र पनि रहेको भन्दै व्यवसागीहरुलाई प्रोत्साहन गर्ने कुनै पनि योजना नरहेको व्यवसायी लाल बहादुर केसीले गुणासो गर्नु भयो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा तुलसीपुर ११ का वडा अध्यक्ष मान बहादुर रावतले शिक्षा र स्वास्थ्य क्षेत्रमा उठेका प्रश्नको जवाफ दिनु भएको थियो । जवाफ दिदै उहाँले जवाफदेहीले जवाफ दिदा फलामको चिउरा चपाए सरह हुने खालका कडा प्रश्न प्रश्नकर्ताले सोध्नु पर्ने बताउनु भएको थियो । आफुलाई त्यस्तो जटिल प्रश्न आउँछ कि भन्ने लागेको तर सजिला प्रश्नहरु सोधिएको भन्दै जवाफ दिनु भएको थियो ।
स्वाथ्य क्षेत्रमा विगतको तुलनामा पछिल्लो समय धेरै फड्को मारेको भन्दै प्रादेशिक अस्पतालले दैनिक ३ सयलाई सेवा दिइरहेको बताउनु भयो । जठिल प्रकृतिको यपचार सेवाका लागि रिफर गर्नु पर्ने अवस्था रहेको उहाँको भनाई थियो । यस्तै मुख्य वक्ताको रुपमा रहनु भएको नगर प्रमुख टिकाराम खड्काले सार्वजनिक सुनुवाईमा पटकउठेका प्रश्नको जवाफ दिनु भएको थियो । उहाँँले अख्तियारमा मुद्धा परेका विषयमा प्रश्न सोधेको भन्दै त्यसको जवाफ अख्तियारले दिने बताउनु भयो । नयाँ नयाँ विषयमा प्रश्न उठाउन पनि आग्रह गर्नु भएको थियो । ३७ जिल्लाबाट आएर शिक्षा लिइरहेको मेट्रो अस्पताल गरिव विपन्न परिवारका छोराछोरीहरुले सहुलियत रकममा पढ्ने अवसर पाएको बताउनु भयो । यस्तै कार्यक्रममा चालु आर्थिक वर्षमा गरिएका सम्पूर्ण प्रगति विवरण पनि पेश गरिएको थियो । नगरका सु्चना अधिकारी बाबुराम न्यौपानेले २ सय ४५ योजनामध्ये २ सय ६ योजना सम्पन्न भएको जानकारी गराउनु भएको थियो। ८८ दशमलव ०८ प्रतिशत भौतिक प्रगति भएको बताउँदै ३९ योजना सम्झौता भएर निर्माणधिन अवस्थामा रहेको जानकारी दिनुभयो । उपमहानगरमा अहिले १ सय ६२ वटा ऐन कानुनहरु बनिसकेको र हाल अहिले यही कानुनमा टेकेर उपमहानगरको गतिविधि संचालन भैरहेको समेत उहाँले जानकारी गराउनु भयो । सुशासन समितिका संयोजक तथा वडा नंबर ८ का अध्यक्ष धर्मराज वलीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईको सहजीकरण साथीभाई मिडिया प्रालि तुलसीपुरले गरेको थियो ।


