









दोर्ण के.सी.
तुलसीपुर, १० असार ।
तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष दुई अर्ब भन्दा बढीको बजेट सहित अगाडि बढेको छ । तुलसीपुर उपमहानगरका उपप्रमुख स्यानी चौधरीले सोमबार आर्थिक वर्ष २०८१÷०८२ को लागि दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँयाको बजेट सार्वजनिक गर्नु भएको थियो । उपमहानगरले सबैभन्दा धेरै बजेट शिक्षामा र कम बजेट पशु तर्फ विनियोजन गरेको सार्वजनिक गर्नु भएको थियो । कुल बजेटको ३०.५७ प्रतिशत अर्थात ६३ करोड ४२ लाख ४९ हजार रुपैँया बजेट शिक्षामा छुट्याएको छ । पशु तर्फ कुल बजेटको १.०२ प्रतिशत अथार्त दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ रुपैँया विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्यतर्फ नौ करोड ५९ लाख ४० हजार, कृषितर्फ पाँच करोड ४८ लाख चौध हजार र अन्य शिर्षकमा एक अर्ब २६ करोड ८७ लाख ८० हजार सात सय ७६ रुपैँया बजेट विनियोजन गरेको छ । यसैविच केही अध्ययन गर्नुपर्ने भएकाले निति तथा कार्यक्रम पनि आजै सार्वजनिक गर्ने भनिएतापनि पनः गर्ने गरि सारिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा पर्यावरणलाई विशेष जोड दिएको छ ।

सडक छेउ, खोला, बगर, मसानघाटमा लगाइएका वर पीपलका रुखहरु मासिँदै जाने थालेपछि नीतिमै समावेश गरेर ‘जहाँ वर पिपल त्यहाँ शीतल’ कार्यक्रम सुरु गर्ने भएको हो । नगर प्रमुख टीकाराम खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक हजार वर पिपलका बिरुवा रोपणका साथै प्रत्येक वडामा रहेका वर, पिपल लगायतका रुखहरुमा जहाँ छहारी त्यहाँ चौतारी कार्यक्रम मार्फत् समुदायको सहभागितामा चौतारी निर्माण गरिने बताउनुभएको थियो । नगरप्रमुख खड्काले सो कार्यक्रममा मुहान संरक्षण, एक वडा एक पानी पोखरी निमार्ण गरिने बताउनुभएको थियो । स्थानीय काँसबाट तयार पारिएको झोलामा आर्थिक वर्ष २०८१÷८२को नीति तथा कार्यक्रम राखिएको थियो । पालिकाले प्लास्टिकजन्य वस्तुको निरुत्साहित गर्नका लागि पात, बाँस लगायतका वस्तुबाट तयार पारिएका सामग्रीको प्रोत्साहन गर्ने नीतिमा समावेश गरेको छ । नीति तथा कार्यक्रम खोला, नाला, पार्क, सामुदायिक वनको खाली क्षेत्रमा, सडकका दुवै किनारा सौन्दर्यकरणका बिरुवा रोपणलाई समेत प्राथमिकता दिएको छ । नीतिमा शिक्षामा विपन्न समुदायका बालबालिकाहरुलाई पूर्ण छात्रवृत्ति, पढ्दै कमाउँदै कार्यक्रम, हप्ताको एक दिन किताब विहीन कक्षा कोठा, स्वास्थ्यमा अग्नीजलनमा परेका नागरिक उपचार कोषको व्यवस्था, जहाँ फोहोर त्यहाँ मोहोर कार्यक्रमअन्तर्गत कुहिने फोहोरलाई प्राङ्गारिक मल बनाउने समावेश गरिएको छ । साथै धार्मिक पर्यटन आकर्षण गर्नका लागि सरयु गङ्गा,गणेश गङ्गालाई आकर्षणको केन्द्र बनाउने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा कृषिजन्य वस्तुको बिक्री वितरणका लागि कृषि एम्बुलेन्सका साथै कृषि क्षेत्रको विकासका लागि चार ज जनता, जमिन, जलस्रोत र जनजीविकोपार्जन कार्यक्रम ल्याएको छ ।



