




दाेर्ण के.सी.
तुलसीपुर, २० साउन ।
ज्ञान ज्योति कलेज तुलसीपुरमा ब्याचलर बिजनेस एडमिनिस्ट्रेसन (विविए) र कम्प्युटर साइन्स र इन्फरमेसन टेक्नोलोजी (विएससी.सीएसआइटी) मा पढाइ हुने भएको छ । सुदूर पश्चिमाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेपछि पश्चिम दाङमा पहिलो पटक ज्ञानज्योति कलेजमा यी दुई वटा विषयमा पढाई हुने भएको हो । यी दुवै विषयमा पढ्नका लागि एसईईमा ‘सि’ ग्रेड अर्थात प्लसटु उत्तीर्ण गरेको हुनुपर्ने छ । तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर कलेजले यस्तो जानकारी दिएको हो । कलेजका प्रिन्सीपल सुरेन्द्र जिसीले विएससी.सीएसआइटी र विविए पढ्ने विद्यार्थीले वेब डिजाइनर्स, प्रोजेक्ट म्यानेजरर्स, वेब डेभलपर्स, सप्टवर्यस इन्जिनियर्स, एप्लिकेसन डेभलपर्स त्यसैगरी बैकिंग, इन्सुरेन्स, फाइनान्सियल इन्स्टिच्युसन, ठूला व्यापारिक कम्पनीमा सजिलै रोजगार पाउने बताउनुभयो ।‘आठ सेमेस्टरको चार वर्षे कोर्सको समयावधि रहेको उक्त विषयका लागि सम्बन्धन प्राप्त गर्न हामीले विगत १२ वर्ष देखि अनवरतरूपमा मेहेनत गरेको छौँ । यो कार्यक्रम तुलसीपुरका लागि नितान्त नौलो हो । यी विषयहरू पढ्नका लागि विगतमा धेरै विद्यार्थीहरूकाठमाडौँ, बुटवल, घोराही लगायत देशका विभिन्न स्थानमा जाँदा सास्ती बेहोर्नु परेको थियो । यस वर्ष विद्यार्थीहरूले आफ्नै स्थानमा आफुले चाहेको विषय अध्ययन गर्न पाउने भएका छन् । अब यही ज्ञान ज्योति कलेजमै विद्यार्थीहरूको विविए र विएससी सिएस आइटी
अध्ययन गर्ने सपना पुरा हुने भएको छ । कम लागतमा आफ्नै ठाउँमा बसेर यी विषयहरू अध्ययन गर्ने सपना पुरा हुने भएको छ ।’’ प्रिन्सिपल जिसीले बताएका थिए । पछिल्लो समय यी विषयको अत्याधिक माग भएको कलेजले बताएको छ । सो अवसरमा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसीले दाङमा शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको ज्ञानज्योतिले समयानुकुल आफुलाई अघि बढाएकै कारण यस क्षेत्रमा सफलता प्राप्त गरेको बताएका थिए ।
पश्चिम दाङमा पहिलोपटक नयाँ विषयको सम्बन्धन प्राप्त गरेर एक पटक फेरि हलचल मच्चाएको बताउँदै उक्त अवसरलाई उपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए । पत्रकार सम्मेलनमा कलेजका भाइस प्रिन्सिपल मनोज केसीले कार्यक्रमको विषयमा प्रकाश पार्नु भएको थियो भने पत्रकार सन्तोष केसीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । साे अवसरमा विज्ञान संकायमा उत्कृष्ट अंक ल्याउने ज्ञान ज्योतिका सुशील पराजुलीलाई सम्मान समेत गरिएकाे थियाे ।







