




दोर्ण के.सी.
सल्यान, २ माघ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सल्यानको कपुरकोटको गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको छ । गाउँपालिकाले स्वमूल्यांकनमा ८८ दशमलव २५ प्रतिशत अंक प्राप्त गरेर जिल्लामै उत्कृष्ट बनेको हो । गत आर्थिक वर्ष २०७९र२०८० मा सल्यानका दश पालिकामध्ये कपुरकोट गाउँपालिका जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो ।उहाँका अनुसार गाउँपालिकाले शासकिय प्रवन्ध, न्यायिक कार्य सम्पादन र सहकार्य समन्वयमा शत प्रतिशत अंक ल्याउन सफल भएको छ । यस्तै पालिकाले सेवा प्रवाहमा ९६ दशमलव ८८ प्रतिशत, वित्तिय तथा आर्थिक व्यवस्थापनतर्फ ८८ दशमलव ६४ प्रतिशत, संगठन तथा प्रशासनमा ८७ दशमलव ५ प्रतिशत अंक ल्याउन सफल भएको प्रशासकिय अधिकृत वलीले बताउनुभयो । यस्तै वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८१ दशमलव ८२ प्रतिशत, भौतिक पूर्वाधारमा ७६ दशमलव ९२ प्रतिशत, सामाजिक समावेशीकरणमा ८० प्रतिशत र वातावरण संरक्षण तथा विपद व्यवस्थापनतर्फ ७७ दशमलव ७८ प्रतिशत अंक ल्याउन सफल भएको उहाँले बताउनुभयो । व्यवस्थित योजनाका साथ कानूनको दायराभित्र रही प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रयासमा कपुरकोट गाउँपालिकाले स्वमूल्यांकनको नतिजामा सल्यानमै उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कन गर्ने गरेको छ । सोहि मूल्यांकनमा सल्यानको कपुरकोट गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको हो । मूल्यांकनका आधारमा स्थानीय तहले बजेट पाउने गरेका छन् ।






