










राम के.सी.
तुलसीपुर २४ चैत
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले चुनढुङ्गा उत्खनन र आकाशबाट परेको पानी जमिनले सोस्न नपाउँदा पानीका स्रोतहरू सुक्दै गएको डिभिजन प्रमुख न्यौपानेले बताउनुभएको छ । रिचार्ज सिस्टमको विकास नगरेकै कारण दाङमा खानेपानीको हाहाकारभएको उहाँले बताउनु भएको हो । उहाँले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १९ औ साधारणसभा तथा कार्यपरिषद् बैठकलाई सम्बोधन गर्दै डिभिजन प्रमुख न्यौपानेले यस्तो बताउनु भएको हो । दाङमा स्थापना भएका सिमेन्ट उद्योगका कारण पानी रिजर्भ गरेर राख्ने चुनढुङ्गाको उत्खनन गर्दा र हरेक वर्ष निर्माण गरिने पक्की सडक र नालाका कारण आकाशबाट परेको पानी जमिनमा सोस्न नपाई एकैपटक नदीमा जाने भएकाले रिचार्ज सिस्टममा ध्यान दिनुपर्ने उहाँले बताउनुभएको थियो । प्रदेश सरकार अन्तर्गत दाङमा रहेका ३ सय बढी खानेपानी आयोजनामा बजेट कनिका छरे जस्तै भएकाले अधिकांश आयोजनाहरू अलपत्र परेको समेत पनि उहाँले बताउनुभएको थियो । संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा नेकपा एमालेका माधव वली, नेपाली कांग्रेसका सुरेश हमाल, जनता समाजवादी पार्टीका टोपबहादुर महतारा, राष्ट्रिय जनमोर्चाका ईश्वरी भण्डारी, राप्रपाका श्रीमनी न्यौपाने, एकीकृत समाजवादीका दामोदर लामिछाने, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, बेलझुण्डी खानेपानीका प्रदिप गौतम, अमृतपुर खानेपानीका केशव सापकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसर सचिव शेवक राम भण्डारीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भोला थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


