


थर्कोट समाचारदाता
घोराही २३ श्रावण
गुरुकुल एकेडेमी घोराहीले कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरूका लागि एक दिने प्रतिवेदन लेखन कार्यशाला सम्पन्न गरेको छ। विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धि गर्ने र उनीहरूलाई व्यवहारिक लेखन सीप प्रदान गर्ने उद्देश्यले विद्यालयको वार्षिक भित्तेपात्रोअनुसार उक्त कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा प्रमुख प्रशिक्षकको भूमिका विद्यालयका प्लस टु संयोजक राजन अधिकारीले निर्वाह गर्नुभएको खथियो। प्रतिवेदन लेखनको उद्देश्य, संरचना, प्रकार, र प्रभावकारी लेखनका विभिन्न पक्षहरूबारे प्रशिक्षण दिँदै उहाँले विद्यार्थीहरूलाई व्यावसायिक तथा शैक्षिक जीवनमा यसको उपयोगिताबारे गहिरो जानकारी दिनुभएको थियो। कार्यक्रम गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन तथा स्वागत परीक्षा संयोजक बिवेक देवकोटाले गर्नुभएको थियो। कार्यशाला सम्पन्न भएपछि सहभागी विद्यार्थीहरूलाई प्रतिवेदन लेख्न दिइएको थियो। लेखिएको प्रतिवेदनमध्ये उत्कृष्ट तीन प्रतिवेदन चयन गरी ती विद्यार्थीहरूलाई विद्यालयबाट पुरस्कार प्रदान गरिएको परीक्षा संयोजक देवकोटाले जानकारी दिनुभएको थियो। उक्त कार्यशालाबाट विद्यार्थीहरूमा व्यवहारिक लेखन सीपको विकास हुनुका साथै प्रस्तुतिको कला र तार्किक सोचमा पनि सकारात्मक प्रभाव परेको सहभागी विद्यार्थीहरूको प्रतिक्रिया रहेको थियो। विद्यालयले आगामी दिनहरूमा यस्ता कार्यशालाहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।
