










दोर्ण के.सी.
कार्तिक,६ कपुरकोट । सल्यानको कपुरकोटमा ३ नं.वडाको पहिचान झल्कने गरेर दोस्रो वडा अध्यक्ष कप प्रतियोगिता कार्तिक ६ गते देखि सुरु भएको छ । वडा भित्र रहेका बिभिन्न मौलिक लोक संस्कृति प्रदर्शन सहित प्रतियोगिताको औपचारिक रुपमा सुरुवात गरिएको हो । वडा नं. ३ का वडा अध्यक्ष प्रदिप खड्काको अध्यक्षतामा सुरुवात गरिएको कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले प्रतियोगिताले मानव स्वास्थ्यमा ठुलो सहयोग पुय्राउने बताउनु भएको थियो । उहाँले खेलकुद मनोरञ्जनका लागि मात्र नभएर सामाजिक सद्भाव बढाउन र नागरिकहरूलाई एकताबद्ध गर्ने बलियो माध्यम भएको बताउनु भएको थियो । कपुरकोट जागरण अन्तर्गत गरिने क्रियाकलाप मध्य वडा अध्यक्ष कप प्रतियोगिता पनि एक रहेको

भण्डारीको भनाई छ । कार्यपालिका सदस्य राधिका ऐरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासङ्घ नेपालका केन्द्रिय सदस्य घनश्याम शर्मा, वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठक, अदुवाबाली अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. घनश्याम भण्डारी, कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का लगायतकाले प्रतियोगिताको सफलताका लागि शुभकामना दिनु भएको थियो । कार्तिक ८ गते सम्म चल्ने प्रतियोगितामा टोल विकास संस्था स्तरीय पुरूष भलिबल प्रतियोगिता,आमा समूह स्तरीय महिला भलिबल प्रतियोगता,युगल ब्याडमिन्टन प्रतियोगिता,५ सय मिटर पुरुप दौड,३ सय मिटर महिला दौड प्रतियोगिता राखिएको छ । भने मनोरञ्जनका लागि भाले छोपाइ प्रतियोगिता,घैटा फोड प्रतियोगिता र एकल नृत्य प्रतियोगिता राखिएको वडा सचिव हिरामणि घर्तीले जानकारी दिनु भयो । यस्तै कार्यक्रममा मौलिक लोक संस्कृति सोरठी,पैस्यारु नृत्य प्रदर्शन गर्ने समूह र आमा समूहलाई प्रोत्साहन रकम सहित सम्मान गरिने ३ नं वडा कार्यालयले जनाएको छ ।



