




डिल्ली बस्नेत (संगीत)
झमक्क साँझ परेको थियो। घामको पहेँलो झुल्को हराउँदै गएको आकाशको रङ्गसँगै उसका आँखाहरूमा पनि एक अनौठो उदासी छाएको थियो । उ, नामर्दले सोचे जस्तो जीवन पनि थिएन् । थकाइले चुर भएर पनि उसले हिम्मत गुमाएको थिएन् । त्यो दिन पनि उ घरबाट निस्कियो, तर कहाँ जाने, के गर्ने भनेर उसलाई थाहा थिएन। जीवनको हरेक मोडमा निराशा र असन्तुष्टिको अँध्यारोले उसलाई घेरेको थियो । यात्रा सुरू भयो, बाटो अज्ञात थियो । उसका पाइला हल्लिँदै अघि बढिरहेका थिए, तर मन भने प्रश्नहरूको गहिराइमा डुबेको थियो । “के म सही बाटोमा हिड्दैछु ? के मैले आफ्नो भविष्य भेट्न सक्छु ?“ यी प्रश्नहरूले उसलाई एक क्षण पनि चैन दिँदैनथे। उसको निधारमा पसिनाको थोपा थोपाथोपाले बगिरहेको थियो, त्यो गर्मीको कारण मात्र थिएन; यो अनिश्चितताको कारण पनि थियो । जति हिँड्यो, उ त्यति नै अँध्यारोमा डुब्दै गयो ।

बाटोको दुईवटा मोडमा पुग्दा, उसले छिनभरका लागि विश्राम लियो । सोच्न थाल्यो, “के यो सही दिशा हो ?“ तर जीवनको उत्तर हरेक प्रश्नमा भेटिन्थेन । कहिलेकाहीँ प्रश्नहरू मात्र हुन्थे, उत्तरहरू तिम्रो साहसमा लुकेका हुन्थे । कुनै बेला उ सुनेको थियो, “अँध्यारोमा पनि उज्यालोको खोजी गरिरहनु पर्छ।“ तर त्यस दिन, त्यो उज्यालो निकै टाढा लागिरहेको थियो । उसले आफ्नो छेउमा हिँडिरहेको एकजना वटुवालाई हे¥यो । उसको अनुहारमा पनि उस्तै थकान र निराशा थियो। वटुवाले उसलाई सोध्यो, “दाई, कहाँ जाँदै हुनुहुन्छ? यो अँध्यारो बाटोमा एक्लै यात्रा गर्दै हुनुहुन्छ ?“मुखबाट निस्कियो, “खोइ, यात्रा नै हो । कतै पुगिन्छ कि भन्ने आशा छ । तर कतै कतै, यो यात्रा पनि निरर्थक लाग्न थालेको छ ।“वटुवाले आफ्नो गहिरो सुस्केरा हाल्दै भन्यो, “गरिबीको सुरुङमा धेरै समयदेखि हिँडिरहेको छु दाई। उज्यालोको खोजीमा निस्केको थिएँ, तर यो अँध्यारोको अन्त्य कहिले होला भन्ने प्रश्नले सधैं सताइरहन्छ । थकाइ लागिसक्यो, तर हिँड्न भने छोडेको छैन ।“ दुबैजना केही क्षणको लागि मौन भए । उनीहरूको यात्रा अलग थियो, तर उद्देश्य उस्तै। अँध्यारो सुरुङमा फसेर पनि उनीहरू उज्यालोको आशामा अघि बढिरहेका थिए । कहिलेकाहीँ, जीवनको सबैभन्दा कठिन मोडमा पनि हिम्मत राख्नु आवश्यक हुन्छ । उनीहरू दुबै जना अँध्यारो सुरुङबाट बाहिर निस्कने आशामा निरन्तर हिँडिरहेका थिए, तर भविष्यको अनिश्चितताको डर भने कहिल्यै समाप्त भएको थिएन । अँध्यारोले घेरेको भए पनि उनीहरूको मनमा एक प्रकारको विश्वास थियो—कुनै दिन उज्यालो फेरी आउनेछ । यात्राको अन्त्यमा उनीहरूले खोजेको उज्यालो पाउने आशामा, उनीहरूको यात्रा जारी रह्यो ।
लेखक डिल्ली बस्नेत (संगीत) मोटिभेस्नल टेनेनर र साहित्यकार हुनुहुन्छ ।

