



दाेर्ण के.सी.
तुलसीपुर १९-फागुन/ दाङको पर्यटकीय स्थल मध्यको एक परिचीत ठाउँ राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) पनि हो । यो तुलसीपुर उपमहानगरपालिका-७ गणेशपुरमा अवस्थित रहेको छ । पछिल्लो सयम यस उद्यानमा आन्तरिक पर्यटकहरुको अत्धीक घुइँचो लाग्ने गरेको छ ।
दैनिक रुपमा पर्यटकहरुको भिडभाड लाग्ने गरेपनि शनिबार र सार्वजनिक विदाको दिनमा अझै बढी अवलोकन गर्न आउने पर्यटकहरुको घुइँचो लाग्ने गरेको उद्यान व्यवस्थापन समितीका अध्यक्ष डिल्ली बहादुर भण्डारीले जानकारी दिए ।
कोरोना महामारीमा सुनसान जस्तै देखिने जिल्लाका पर्यटकीय स्थलहरु पछिल्लो समयमा आन्तरिक पर्यटकको बढ्दो आगमनले भरिभराउ हुन थालेका छन् । यसरी दैनिक रुपमा आन्तरिक र बाह्य पर्यटकहरुको आवगमनले उक्त उद्यान भरिभराउ हुन्छ ।
अध्यक्ष भण्डारीका अनुसार पछिल्लो समय उद्यानलाई थप व्यवस्थित बनाएकोले पर्यटकहरुलाई आकर्षित गर्न सफल भएको छ । अहिले उक्त उद्यानमा मुख्य आर्कषकको रुपमा शान्तिका अग्रदुत गौतम बुद्धको मुर्ति, फोटोसेसनका लागि आर्कषक गार्डेन, विभिन्न प्रजातिका फूलहरु, जनावर, घोडा सफारी लगायतका व्यवस्थित बनाइएको छ । यहाँ छिमेकी जिल्ला सल्यान, रुकुम, रोल्पा, प्यूठान, बाँके, बर्दिया लगाएतका जिल्लाबाट पर्यटकहरु अवलोकन र पिकनीक खान आउने गरेका छन् । यसअघि उद्यान भित्रै पिकनीक खाने व्यवस्था भएता पनि पछिल्लो समय उद्यान भन्दा बाहिर पिकनीक स्थलको निर्माण गरेर व्यवस्थीत गरिएको अध्यक्ष भण्डारीले बताए ।
दैनिक दुई/तीन सय पर्यटकले यस उद्यानमा आएर अवलोकन गर्ने गरेको उनले बताए । सार्वजनिक विदाको दिनमा एक हजार भन्दा बढी पर्यटकहरु अवलोकन गर्न आउने गरेका छन् । त्यस्तै यस उद्यान पारिवारीक, शान्त ठाउँमा अवस्थित रहेको छ । जहाँ शनिबार र सार्वजनिक विदाका दिनमा विशेष गरेर आफ्नो बालबालिकालाई अवलोकन तथा रमाइलोका लागि ल्याउने गरेका छन् । साथै बालबालिकाहरुका लागि खेल्नका लागि आर्कषक पिंग, स्वीमिङ पुल, डुंगा लगायतका सामाग्रीहरु राखिएका छन् ।
त्यस्तै उद्यानमा पछिल्लो समय टिकटक, विवाह, जन्मदिन लगायतको फोटो खिच्ने फोटोग्राफर तथा क्यामराको समेत व्यवस्था रहेको छ । प्रति फोटो १५ रुपैंयाका दरले खिच्ने व्यवस्था छ । फोटो ग्राफरले पार्कलाई दैनिक तीन सय रुपैँया तिरेर पार्कमा फोटो खिच्ने गरेको बताए । उनीहरुले दैनिक एक हजार देखि १५ सय सम्मको फोटो खिच्ने गरेको बताए । पछिल्लो समय टिकटक बनाउने फोटो खिच्नेको लहर जस्तै बनेको छ शान्ति पार्क ।
तस्तै उद्यानमा विभिन्न जातजातिको भेषभुषामा सजिएर फोटोसेसन गर्ने व्यवस्था पनि छ । यसरी पार्कमा आउने पर्यटकहरुलाई लोभ्याउन माहिर बनेका फोटोग्राफर र भेषभुषाका व्यवस्थापकले दैनिक रुपमा निकै राम्रो आम्दानी गर्ने गरेका छन् । पछिल्लो समय सो पार्कले पर्यटकहरुलाई आकर्षित गर्नुका साथै वेरोजगार युवाहरुलाई रोजगारको सिजृना गरेको छ ।यसरी स्थानीय स्तरमै पर्यटकलाई आर्कषित गर्न सकेमा आन्तरिक पर्यटकको संख्यालाई वृद्धि गरेर आत्मनिर्भर बन्नुका साथै बेरोजगार युवाहरुलाई केही हदसम्म रोजगारको सिजृना गर्न सकिन्छ ।

