




दोर्ण के.सी.
तुलसीपुर, १८ फागुन ।
अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १५ औं साधारणसभा तथा पार्षद भेला आज तुलसीपुर–९ मा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका क्रमशः वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकाल, वडा नं. ८ का धर्मराज वली, वडा नं. ३ का विजय विक, नेपाली काँग्रेसका डम्बर गिरी, नेकपा एमालेका टोपबहादुर वली, माओवादी केन्द्रका मदन हमाल, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दाङ इन्चार्ज प्रदिप वली, रास्वपाका बलिराम खत्री, खानेपानीको पूर्व पदाधिकारी तथा पूर्व कोषाध्यक्ष संगित बस्याल, संस्थाका जितबहादुर खड्का, खानेपानीका उपाध्यक्ष केशव सापकोटा लगायतले जलवायु परिवर्तनका कारण पछिल्लो समय खानेपानीका मुहानहरु सुक्दै जान थालेकोले गम्भिर चिन्ता व्यक्त गर्दै खानेपानीको सहज आपूर्तिका लागि पानीको स्रोत बढाउनलागि कार्यसमितीले आपसी पहलकदमी चाल्नु पर्ने सुझाव दिएका थिए । त्यसैगरी स्थानीय सरकार प्रमुख तथा दलका प्रतिनिधिहरुले खानेपानी सबैको सरोकारको विषय भएकाले विगतमा भएका कमिकम्जोरीहरूलाई सच्याउँदै विस्तृत योजना र प्लानकासाथ अघि बढ्न सुझाब दिएका थिए । वार्षिक साधारण सभामा सचिव दशरथ वलीले संस्थाको आगामी नीति तथा कार्यक्रम, भौतिक विकासमा गरिएको प्रगति, चुनौति र सम्भावना सहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष केशव वलीले खानेपानी संस्थालाई व्यवस्थित रुपमा संचालन गर्नका लागि आवश्यक पर्ने प्रस्तावित आम्दानीका स्रोत, त्यसको पहिचान, प्रस्तावित खर्च सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव दशरथ वलीले गर्नुभएको थियो ।







